सामग्रीमा जानुहोस्
सोमबार, कात्तिक २३, २०८३
ओपेड

आधुनिक मानिस : सुविधाले सम्पन्न, तर भित्रबाट किन अशान्त ?

आजको मानिससँग पहिलेका पुस्ताले कल्पना पनि गर्न नसक्ने सुविधाहरू छन् । हातमा एउटा मोबाइल मात्र भएपनि जसबाट संसारको जुनसुकै कुनामा रहेका मानिससँग केही सेकेण्डमै सम्पर्क गर्न सकिन्छ । घरमै बसेर संसारभरिका समाचार पढ्न, हेर्न, सामान किन्न, पैसा पठाउन र आफ्नो काम गर्न सकिन्छ । उपचारका नयाँ प्रविधि छन्, यातायात सहज भएको छ, शिक्षाका अवसर बढेका छन् र जीवनलाई सहज बनाउने अनेकौँ साधन उपलब्ध छन् । मानव सभ्यताले यति धेरै प्रगति गरेको छ कि केही दशकअघिसम्म असम्भव लाग्ने कुराहरू आज सामान्य जीवनको हिस्सा बनेका छन् ।

तर यही प्रगतिका बीच एउटा अनौठो विरोधाभास देखिन्छ । मानिसको जीवन जति सुविधा सम्पन्न हुँदै गएको छ, उसको मन त्यति नै अशान्त हुँदै गएको छ । धेरै मानिसहरु आफूलाई थाकेको, दबाबमा रहेको, असन्तुष्ट र कुनै न कुनै कुराको अभावमा बाँचिरहेको अनुभव गर्छन् । बाहिरबाट हेर्दा जीवन व्यवस्थित देखिन्छ, तर भित्र अनेकौँ चिन्ता, डर, तुलना र असन्तुष्टिले ठाउँ ओगटिरहेका हुन्छन् । आखिर समस्या कहाँ छ ? मानिससँग पर्याप्त सुविधा नभएर हो कि सुविधाको परिभाषा नै बदलिँदै गएर हो ?

मानिसले आफ्नो जीवन सहज बनाउन साधनहरूको विकास गर्‍यो । खाना पकाउन आगोको प्रयोगदेखि लिएर आधुनिक प्रविधिसम्म आइपुग्दा मानव सभ्यताको मूल उद्देश्य जीवनलाई सुरक्षित र सहज बनाउनु थियो । तर समयसँगै सुविधा आवश्यकताबाट प्रतिष्ठाको विषय बन्न थाल्यो । कुनै समय मानिसलाई बस्नका लागि घर चाहिन्थ्यो । आज घर हुनु मात्र पर्याप्त छैन, कस्तो घर छ भन्ने कुराले सामाजिक हैसियत निर्धारण गर्न थालेको छ । यातायातका लागि साधन चाहिन्थ्यो, अहिले कुन, कस्तो गाडी चढिन्छ भन्ने कुरा प्रतिष्ठासँग जोडिएको छ । राम्रो लुगा लगाउनु सामान्य आवश्यकता थियो, अहिले ब्रान्ड र मूल्यले मानिसको पहिचान देखाउने माध्यम भएको छ ।

आजको समस्या धन नकमाउनु होइन, आफ्नो जीवनको मूल्यलाई धन र वस्तुसँग कसरी जोड्ने त्यो समस्या जटिल बन्दै गइरहेको छ । पहिले मानिसले आफ्नो आवश्यकता पूरा गर्न काम गर्नुपथ्र्यो अहिले अरूभन्दा अगाडि बढ्न काम गर्नुपर्ने अवस्था बनेको छ । एउटा घर बनाइसकेपछि अर्को ठूलो घरको चाहना, एउटा गाडी भएपछि अझ महँगो गाडीको चाहना, एउटा उपलब्धि हासिल गरेपछि अर्को उपलब्धिको दबाब । चाहनाको यो शृङ्खलामा अन्तिम बिन्दु कहाँ छ भन्ने कुरा स्वयं चाहना राख्ने मानिसलाई पनि थाहा नहुन सक्छ । यसरी जीवन बिस्तारै बाँच्ने प्रक्रियाभन्दा पनि निरन्तर केही हासिल गरिरहनुपर्ने प्रतिस्पर्धा बन्न पुगेको छ ।

आधुनिक मानिसको अशान्तिको एउटा महत्वपूर्ण कारण सामाजिक सञ्जाल पनि हो । यसले संसारलाई नजिक त ल्याएको छ, मानिसलाई आफ्नो प्रतिभा देखाउने अवसर दिएको छ र सूचना प्राप्त गर्न सजिलो बनाएको छ । तर यसको अर्को पक्ष पनि छ, जसले मानिसको सोच र आत्मसन्तुष्टिमा गहिरो प्रभाव पारिरहेको छ ।

आज बिहान आँखा खुल्नासाथ धेरै मानिसको पहिलो सम्पर्क आफ्नै जीवनसँग होइन, मोबाइलको स्क्रिनसँग हुन्छ । कसैले नयाँ घर किनेको देखिन्छ, कसैले विदेश भ्रमण गरेको, कसैले महँगो गाडी चढेको त कसैले आफ्नो व्यवसायमा सफलता हासिल गरेको । केही मिनेटमै हामी दर्जनौँ मानिसका सफलताका दृश्यहरू हेर्छौँ । तर त्यहाँ एउटा कुरा छुटिरहेको हुन्छ, हामी अरूको जीवनको देखिने राम्रो पक्षलाई आफ्नो जीवनको वास्तविक अवस्थासँग तुलना गरिरहेका हुन्छौँ ।

सामाजिक सञ्जालमा प्रायः मानिसले आफ्नो जीवनका खुसी, उपलब्धि र आकर्षक क्षणहरू साझा गर्छन् । उनीहरूको आर्थिक समस्या, पारिवारिक तनाव, असफलता, एक्लोपन र व्यक्तिगत संघर्ष त्यति धेरै देखिँदैनन् । हामी उनीहरूको सजाइएको जीवन हेर्छौँ र आफ्नो जीवनका वास्तविक कठिनाइसँग तुलना गर्छौँ । यहीँबाट एउटा अदृश्य असन्तुष्टी सुरु हुन्छ । आफूले पाएको कुरामा खुसी हुनुभन्दा आफूले नपाएको कुराको हिसाब गर्न थालिन्छ । आफ्नो यात्रामा ध्यान दिनुभन्दा अरू कहाँ पुगे भन्ने कुराले बढी प्रभाव पार्न थाल्छ । अचम्मको कुरा के छ भने, मानिसले आफ्नो जीवनको आनन्द लिनसमेत अरूको प्रतिक्रियाको प्रतीक्षा गर्न थालेको छ । घुम्न जाँदा दृश्य हेर्नुभन्दा फोटो खिच्न व्यस्त हुन्छ । खाना खाँदा स्वाद लिनुभन्दा त्यसको तस्बिर कसरी राम्रो देखिन्छ भन्ने सोच आउँछ । कुनै अनुभव आफैँमा पर्याप्त हुँदैन, त्यसलाई अरूले देख्न र मन पराउन पनि आवश्यक ठानिन्छ । यसले मानिसलाई बिस्तारै वर्तमान क्षणबाट टाढा लैजाँदै छ ।

आजको समाजमा आर्थिक सफलता अत्यन्त महत्त्वपूर्ण बनेको छ । महँगी बढिरहेको छ, घरभाडा महँगो छ, शिक्षा र स्वास्थ्यको खर्च बढेको छ । सामान्य जीवन चलाउन पनि धेरै मानिसले आफ्नो आम्दानीको ठूलो हिस्सा खर्च गर्नुपर्छ । यस्तो अवस्थामा आर्थिक रूपमा सक्षम बन्न खोज्नु स्वाभाविक हो । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब मानिसले आफ्नो सम्पूर्ण जीवनलाई आम्दानी र उपलब्धिको हिसाबमा मात्र मापन गर्न थाल्छ । बिहानदेखि बेलुकासम्म काम, त्यसपछि घरको जिम्मेवारी, भोलिको चिन्ता र भविष्यको योजना । धेरै मानिसका लागि आफ्नै जीवनका लागि समय निकाल्नु पनि विलासिताजस्तो हुन थालेको छ । परिवारसँग बसेर कुराकानी गर्ने समय कम हुँदै गएको छ । साथीभाइसँग भेटघाट गर्ने अवसर घटेको छ । आफूलाई मन पर्ने काम गर्ने, केही समय एक्लै बस्ने वा कुनै उद्देश्यबिना घुम्न निस्कने स्वतन्त्रता पनि हराउँदै गएको छ ।

मानिस भविष्यलाई सुरक्षित बनाउन वर्तमानलाई खर्च गरिरहेको छ । तर त्यो भविष्य कहिले आउँछ र त्यसबेला उसँग आफ्नो जीवनको आनन्द लिन कति समय बाँकी रहन्छ भन्ने प्रश्नको उत्तर प्रायः कसैसँग हुँदैन । पैसा आवश्यक छ । आर्थिक स्वतन्त्रता पनि आवश्यक छ । तर पैसा कमाउने क्रममा मानिसले आफ्नो स्वास्थ्य, सम्बन्ध, समय र मानसिक सन्तुलन नै गुमाउन थाल्यो भने त्यसलाई सफलता मात्र भन्न मिल्दैन ।

प्रविधिले मानिसलाई सम्पर्कमा राखेको छ, तर सम्पर्क र सम्बन्ध एउटै कुरा होइनन् । आज हजारौँ साथी सामाजिक सञ्जालमा हुन सक्छन्, सयौँ मानिससँग दैनिक कुराकानी हुन सक्छ, तर दुःख पर्दा मन खोलेर कुरा गर्न सकिने मानिसको अभाव पनि उत्तिकै हुन सक्छ । परिवारका सदस्य एउटै घरमा बसेर पनि आ–आफ्नै मोबाइलमा व्यस्त हुन्छन् । एउटै टेबलमा बसेर खाना खाँदा पनि कुराकानीभन्दा स्क्रिनमा बढी ध्यान जान्छ । पहिले मानिसहरू भेट्नका लागि समय निकाल्थे । अहिले समय मिल्यो भने भेट्ने कुरा गर्छन् । पहिले सम्बन्ध कायम राख्न भेटघाट र संवाद महत्त्वपूर्ण हुन्थ्यो, अहिले एउटा सन्देशको भरमा आफ्नो जिम्मेवारी पूरा भएको ठानिन्छ । यसको अर्थ प्रविधिले सबै सम्बन्ध बिगारेको हो भन्ने होइन । प्रविधि आफैँमा दोषी छैन । हामीले त्यसको प्रयोग कसरी गरिरहेका छौँ भन्ने कुरा महत्वपूर्ण हो ।

सम्बन्धलाई टिकाइराख्न समय चाहिन्छ, ध्यान चाहिन्छ र एकअर्काको कुरा सुन्ने धैर्य चाहिन्छ । तर आधुनिक जीवनको व्यस्ततामा मानिससँग सबैभन्दा कम उपलब्ध हुने कुरा नै समय र धैर्य बनेका छन् । कहिलेकाहीँ मानिसलाई महँगो उपहारभन्दा कसैले ध्यान दिएर सुनिदिएको कुरा बढी आवश्यक हुन्छ । तर हामीले सम्बन्धमा पनि वस्तु र प्रदर्शनलाई प्राथमिकता दिन थालेका छौँ ।

आज मानिससँग मनोरञ्जनका अनगिन्ती साधन छन् । चलचित्र, संगीत, खेल, इन्टरनेट र सामाजिक सञ्जाल । केही क्षण खाली बस्नुपर्‍यो, शरिर, मनलाई आराम चाहियो भने पनि हामि मोवाइलमै खोज्छौँ । यात्रा गर्दा, खाना खाँदा, सुत्नुअघि र बिहान उठ्नेबित्तिकै मनोरञ्जनका सामाग्री उपलब्ध छ । तर के हामी साँच्चै आराम गरिरहेका छौँ त? शरीरलाई आराम दिनु र मनलाई आराम दिनु फरक कुरा हुन् । मानिस घण्टौँ सोफामा बसेर मोबाइल चलाउन सक्छ, तर त्यस अवधिमा उसको दिमाग निरन्तर नयाँ सूचना, दृश्य र विचारसँग व्यस्त हुन्छ । एउटा भिडियो सकिन नपाउँदै अर्को सुरु हुन्छ । एउटा समाचार पढिसक्दा अर्को शीर्षकले ध्यान तान्छ । यसरी मानिसको ध्यान निरन्तर एउटा विषयबाट अर्को विषयमा पुगिरहेको हुन्छ ।

कहिलेकाहीँ केही नगरी बस्न पनि कठिन लाग्छ । केही समय मोबाइल नहेरी बस्दा असहज महसुस हुन्छ । एक्लै हुँदा अनेकौँ विचार आउँछन्, त्यसैले ती विचारबाट बच्न फेरि कुनै न कुनै मनोरञ्जन मनले खोज्छ । हामीले आरामका साधन त धेरै बनायौँ, तर आफैँसँग केही समय बिताउने बानी भने कमजोर बनाउँदै गयौँ ।

प्रगति आवश्यक छ । विज्ञान, प्रविधि, शिक्षा र आर्थिक विकासबिना मानव जीवन सहज हुन सक्दैन । विगतको कठिन जीवनलाई आदर्श मानेर आधुनिक सुविधाको विरोध गर्नु पनि उचित हुँदैन । तर विकासको मूल्याङ्कन गर्दा हामीले एउटा प्रश्न सोध्नुपर्ने हुन्छ, के हाम्रो जीवन साँच्चै राम्रो हुँदै गएको छ? यदि मानिससँग महँगो घर छ तर परिवारसँग बस्ने समय छैन भने त्यसलाई पूर्ण सफलता भन्न सकिन्छ? यदि आम्दानी राम्रो छ तर सधैँ भविष्यको चिन्ताले निद्रा हराएको छ भने त्यो कस्तो उपलब्धि हो? यदि हजारौँ मानिससँग सम्पर्क छ तर आफ्नो दुःख सुनाउने एउटा विश्वासिलो सम्बन्ध छैन भने हाम्रो सामाजिक प्रगति कति सार्थक छ ?

यी प्रश्नको उत्तर सबैका लागि एउटै हुँदैन । कसैका लागि आर्थिक स्वतन्त्रता नै ठूलो उपलब्धि हुन सक्छ, कसैका लागि परिवारसँग बिताएको समय, कसैका लागि आफ्नो काममा सफलता महत्त्वपूर्ण हुन सक्छ, कसैका लागि स्वतन्त्र र सरल जीवन । तर एउटा कुरा स्पष्ट छ, सफल जीवनको परिभाषा अरूले बनाइदिएको हुनुपर्छ भन्ने छैन । हामीले आफ्नो आवश्यकता, प्राथमिकता र खुसीको अर्थ आफैँ बुझ्नुपर्छ, अरूको जीवनसँग तुलना गरेर आफ्नो जीवनको मूल्य निर्धारण गर्न छोड्नुपर्छ । सबै कुरा हासिल गर्न सकिन्छ भन्ने भ्रमबाट पनि बाहिर निस्कनुपर्छ, मानिसको समय सीमित छ, ऊर्जा सीमित छ र जीवनका अवसर पनि सधैँ एकनासका हुँदैनन् भन्ने बोध हुन आवश्यक छ । त्यसैले के प्राप्त गर्ने भन्ने जति महत्त्वपूर्ण छ, के कुरालाई पछ्याउन आवश्यक छैन भन्ने बुझ्नु पनि उत्तिकै महत्वपूर्ण छ ।

अन्त्यमा, आधुनिक मानिसको समस्या सुविधा हुनु मात्र होइन । समस्या, सुविधा हुँदाहुँदै पनि सन्तुष्ट हुन नसक्ने जीवनशैलीमा छ । हामीले संसारसँग जोडिने माध्यम त विकास गर्‍यौँ, तर आफैँसँग जोडिने समय घटाउँदै गयौँ । सूचना प्राप्त गर्ने क्षमता बढायौँ, तर कुन सूचना आवश्यक छ भनेर छुट्याउने धैर्य घटायौँ । जीवनलाई सहज बनाउने साधन थप्यौँ, तर जीवनलाई सहज रूपमा स्वीकार गर्ने क्षमता विकास गर्न सकेनौँ । यति भन्द्र गर्दा सबै कुरा त्यागेर पुरानो समयमा फर्किनु पर्छ भन्ने होइन । न त धन, सुविधा, प्रविधि वा सफलताबाट टाढा भाग्नु नै समाधान हो । आवश्यक कुरा यति मात्र हो कि, यी सबै साधन हाम्रो जीवनलाई राम्रो बनाउन प्रयोग हुनुपर्छ, हाम्रो सम्पूर्ण जीवन नै यिनको पछाडि लगाउनु हुदैन ।

कहिलेकाहीँ आफ्नो व्यस्तताबाट केही समय निकालेर आफूलाई दिनुपर्छ । अनि आफैलाई प्रश्न गर्न सक्नुपर्छ, म जुन जीवनका लागि यति धेरै मेहनत गरिरहेको छु, के त्यो जीवन वास्तवमै बाँचिरहेको छु ? किनकि जीवन केवल कमाउने, किन्ने, बनाउने, देखाउने र अरूभन्दा अगाडि पुग्ने प्रतिस्पर्धा मात्र होइन । केही समय परिवारसँग हाँस्नु, साथीको कुरा सुन्नु, प्रकृतिसँग रमाउनु, आफ्नो अन्तर आत्माले चाहेको काम गर्नु, र कुनै उपलब्धि हासिल नगरेको दिन पनि आफूलाई असफल नठान्नु वास्तवमा जीवन हो । हामीले संसारलाई धेरै हदसम्म बदलिसक्यौँ । अब प्रश्न यति मात्र हो, यो बदलिएको संसारमा हामीले आफ्नो जीवनलाई कस्तो बनाउँदै गइरहेका छौँ ? सायद आधुनिक मानिसले फेरि एकपटक बुझ्नुपर्ने कुरा यही हो, जीवनलाई सहज बनाउन बनाइएका सुविधाहरूको बीचमा कतै जीवन नै बाँच्न बिर्सिएका त छैनौं ?

०शेयर