नेपालको पहिचानसँग जोडिएका हिमाल यहाँको प्राकृतिक सम्पदा मात्रै होइनन्, आर्थिक समृद्धि र रोजगारीका महत्वपूर्ण आधार पनि हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित आकर्षक हिमशृङ्खला, हिमताल, पदमार्ग र मौलिक हिमाली संस्कृतिले नेपाललाई विश्वकै प्रमुख पर्वतीय पर्यटन गन्तव्य बनाउने क्षमता राख्छ । तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि नेपालले अपेक्षाअनुसार लाभ लिन सकेको छैन ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार पूर्वाधारको कमी, कमजोर कनेक्टिभिटी र प्रभावकारी प्रवद्र्धनको अभावले नेपालको पर्वतीय पर्यटनले अपेक्षित गति लिन नसकेको हो । उनले हिमाल हेर्न, आरोहण गर्न र हिमाली वातावरणको अनुभव लिन विश्वभरका पर्यटक इच्छुक भए पनि नेपालले त्यसलाई पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताए ।
“पर्वतीय पर्यटन नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा हो। हिमाल हेर्न आउने, हिमाल चढ्न आउने वा हिउँ छोएर अनुभव गर्न चाहनेहरू विश्वभर छन्,” शेर्पाले भने ।
सगरमाथाको सम्भावना, पर्यटकको न्यून संख्या
कञ्चनजङ्घादेखि सगरमाथा, मनास्लु, अन्नपूर्ण र धौलागिरि हुँदै अपी र सैपालसम्म फैलिएको नेपालको हिमाली सम्पदा विशाल छ । तर सबै गन्तव्यमा पर्यटकको पहुँच र आकर्षण विस्तार हुन सकेको छैन ।
शेर्पाका अनुसार सगरमाथा क्षेत्रमै वर्षमा करिब ६० हजार पर्यटक पुग्छन् । उनले फ्रान्सको मोँ ब्लो हिमालको फेदीमा रहेको श्यामोनीसँग तुलना गर्दै त्यहाँ वर्षमा ५० देखि ६० लाख पर्यटक पुग्ने बताए ।
उनको भनाइमा यसले नेपालले आफ्नो हिमाली सम्पदाको सम्भावनालाई अझै पर्याप्त रूपमा उपयोग गर्न नसकेको देखाउँछ । यसको प्रमुख कारणमध्ये एक हो—गन्तव्यसम्म पुग्न कठिन हुनु । काठमाडौं र सगरमाथाबीचको सीधा दूरी धेरै नभए पनि मौसमका कारण हवाई सेवा प्रभावित हुन्छ । सडकमार्गबाट जाँदा लामो समय लाग्ने भएकाले पर्यटकलाई सहज यात्रा उपलब्ध गराउन चुनौती रहेको शेर्पाको भनाइ छ ।
त्यसैले सुरक्षित हवाई सेवा, भरपर्दो सडक, व्यवस्थित पदमार्ग र उद्धार प्रणालीको विकास पर्वतीय पर्यटन विस्तारका लागि आवश्यक देखिन्छ ।
पर्यटन विकाससँगै वातावरण संरक्षण
हिमालको प्राकृतिक सौन्दर्य र मौलिक संस्कृति नै पर्यटक आकर्षित गर्ने मुख्य आधार हुन् । त्यसैले पर्यटन पूर्वाधार निर्माण गर्दा वातावरण संरक्षणलाई बेवास्ता गर्न नहुने शेर्पा बताउँछन् ।
सगरमाथा आधार शिविर र कालापत्थरजस्ता क्षेत्रमा पर्यटक पुग्ने गरे पनि सरसफाइ, शौचालय र फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्ने उनको सुझाव छ । हिमाली क्षेत्रमा होटल तथा रिसोर्ट निर्माण गर्नै नहुने नभई निश्चित मापदण्डअनुसार वातावरणमैत्री संरचना बनाउनुपर्ने उनको भनाइ छ ।
हिमाल सफाइका लागि संकलन गरिने ‘गार्बेज फी’लाई व्यवस्थित रूपमा परिचालन गरी वातावरण संरक्षण र पर्वतीय क्षेत्रमा काम गर्ने श्रमिकको कल्याणका लागि छुट्टै कोष निर्माण गर्नुपर्ने उनले बताए ।
नेपाल पर्वतारोहण संघले हाल आरोहण अनुमति जारी गरिने ४२३ वटा हिमालको प्रोफाइल तयार गरेको र थप १०८ वटा हिमालको प्रोफाइल निर्माण भइरहेको पनि शेर्पाले जानकारी दिए। यी विवरणले नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनमा सहयोग पुर्याउन सक्छन् ।
रोजगारीको बलियो आधार
पर्वतीय पर्यटन विस्तार हुँदा गाइड, होटल, यातायात, ट्रेकिङ, पर्वतारोहण सहयोगी तथा स्थानीय उत्पादनसँग जोडिएका क्षेत्रमा रोजगारी सिर्जना हुन्छ। पर्यटकको खर्चले स्थानीय पसलदेखि कृषि उत्पादन र आतिथ्य सेवासम्मका व्यवसायलाई चलायमान बनाउँछ। “सबैभन्दा ठूलो कुरा रोजगारी सिर्जना हो। यो देशका नागरिकले यहीँ काम गरेर आफ्नो जीविका चलाउन पाउनुपर्छ,” शेर्पाले भने।
तर यसका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्ने, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्नुपर्ने र नियमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ। उच्च हिमाली क्षेत्रमा गैरकानुनी गतिविधि रोक्न र पर्वतारोहणलाई सुरक्षित तथा व्यवस्थित बनाउन नियमनलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
अब सम्भावनालाई उपलब्धिमा बदल्ने बेला
नेपालको पर्वतीय पर्यटन विकासका लागि हिमालको प्रचार गरेर मात्रै पुग्दैन। पर्यटकलाई सहज पहुँच, सुरक्षित यात्रा, गुणस्तरीय सेवा र स्वच्छ वातावरण उपलब्ध गराउनुपर्छ। साथै स्थानीय युवालाई दक्ष बनाएर पर्यटनबाट सिर्जना हुने रोजगारीमा जोड्न आवश्यक छ ।
स्पष्ट नीति, पूर्वाधार विकास, प्रभावकारी प्रवद्र्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सके पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ ।
नेपालसँग हिमालको कमी छैन, विश्वलाई आकर्षित गर्ने प्राकृतिक सम्पदाको पनि अभाव छैन । अब आवश्यक छ—ती सम्भावनालाई दिगो पर्यटन, स्थानीय रोजगारी र आर्थिक समृद्धिमा बदल्ने ठोस योजना र प्रभावकारी कार्यान्वयन ।