काठमाडौं । हिमाली क्षेत्रमा बढ्दो दुर्घटना र प्राकृतिक विपद्का कारण पर्यटन क्षेत्रमा परेको असर कम गर्दै नेपालप्रति पर्यटकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले मे २०२७ मा विश्व शान्ति पूजा आयोजना गरिने भएको छ ।
नेपालका लागि बेल्जियमका पूर्व अवैतनिक वाणिज्यदूत तथा वरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाका अनुसार सोलुखुम्बुको त्याङ्बोचे, खुम्जुङ, लुक्ला र थुप्तेन छोलिङसँगै काठमाडौंमा पूजा आयोजना गर्ने तयारी गरिएको छ ।
विश्वका विभिन्न देशबाट बौद्ध धर्मगुरु, आध्यात्मिक गुरु तथा हजारौं अनुयायी सहभागी गराउने आयोजकको लक्ष्य छ । भारत, अमेरिका, भियतनामलगायत देशबाट पनि अन्तर्राष्ट्रिय सहभागी आउने अपेक्षा गरिएको शेर्पाले बताए ।
शान्ति पूजासँगै खुम्जुङमा वातावरण संरक्षण, पर्यटन विकास र स्थानीय तथा आदिवासी पर्यटनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय कार्यक्रमसमेत आयोजना हुनेछ । पहिलो दिन वातावरणसम्बन्धी गोष्ठी, दोस्रो दिन खुम्बु क्षेत्रको पर्यटन विकास र तेस्रो दिन स्थानीय तथा आदिवासी पर्यटनका विषयमा छलफल गरिनेछ ।
शेर्पाका अनुसार त्याङ्बोचेमा ८ देखि ९ हजार, खुम्जुङमा १५ देखि १६ हजार, लुक्लामा २० देखि २१ हजार र थुप्तेन छोलिङमा ७ देखि ८ हजार सहभागी आउने अनुमान गरिएको छ । काठमाडौंको कार्यक्रमका लागि भने व्यवस्थापन क्षमताअनुसार सहभागी संख्या निर्धारण गरिनेछ ।
हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक विपद्ले पर्यटन व्यवसायीको लगानी तथा पर्यटकको सुरक्षाप्रतिको विश्वासमा असर पारेको शेर्पाको भनाइ छ । नंगा पर्वत, हिम्लुङ हिमाल, भोटेकोसी, बुढीगण्डकी, मनाङ र मुस्ताङ लगायत क्षेत्रमा भएका घटनाले पर्वतीय पर्यटनमा चुनौती थपेको उनले बताए ।
‘सगरमाथा विश्वको सर्वोच्च शिखर र लुम्बिनी बुद्ध जन्मिएको पवित्र भूमि भएकाले नेपालबाट विश्व शान्ति र वातावरण संरक्षणको सन्देश दिन चाहन्छौं,’ शेर्पाले भने ।
कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालालाई समेत सहभागी गराइनेछ । पर्यटन विकास, वातावरण संरक्षण, दिगो पर्यटन र विपद् न्यूनीकरणका विषय समेटेर घोषणापत्र जारी गर्ने तयारी पनि गरिएको छ ।
आयोजक संस्था क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको सञ्जाल नेपालका २२ हिमाली जिल्लामा रहेको शेर्पाले जानकारी दिए । उक्त संस्था संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको माउन्टेन पार्टनर्स सञ्जालको सक्रिय सदस्य रहेको उनको भनाइ छ ।
यसअघि पोखरा र काठमाडौंमा भएका यस्तै कार्यक्रमले पनि ठूलो संख्यामा विदेशी अनुयायी तथा पर्यटक आकर्षित गरेको शेर्पाले बताए । उनका अनुसार सन् २००४ मा पोखरामा आयोजित कार्यक्रममा करिब ३६ हजार, सन् २०१६ मा २४ हजार, सन् २०२२ मा काठमाडौंमा ५१ हजार र सन् २०२४ मा बौद्धमा १५ हजार सहभागी भएका थिए ।
यसपटक अक्टोबरमा कार्यक्रम गर्ने प्रारम्भिक योजना भए पनि मुख्य पर्यटन सिजनसँग जुध्ने र व्यवस्थापनमा चुनौती हुन सक्ने भएकाले मे २०२७ का लागि सारिएको हो ।
विश्व शान्ति पूजालाई धार्मिक तथा आध्यात्मिक कार्यक्रमसँगै पर्यटन प्रवर्द्धनको अवसरका रूपमा उपयोग गर्ने आयोजकको योजना छ । यसबाट खुम्बु क्षेत्रको पर्यटन गतिविधि बढ्नुका साथै नेपाललाई शान्ति, आध्यात्मिकता, वातावरण संरक्षण र पर्वतीय पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।