सामग्रीमा जानुहोस्
आइतबार, कात्तिक २२, २०८३
शुभारम्भ :

उज्यालो पर्वमा ‘नेपाल लग’को उज्यालो यात्रा

शुभ दीपावलीले छोपिसक्यो । आज दीपावलीको सबैभन्दा महत्वपूर्ण दिन, धनकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पवित्र दिन—लक्ष्मी पूजा । यही उज्यालो र हर्षोल्लासको पर्वको अवसर पारेर आजदेखि हामी ‘नेपाल लग’ (Nepallog) अनलाइन न्युज पोर्टल आधिकारिक रूपमा तपाईंसामु साझा गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।

यस शुभ घडीमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

आजको डिजिटल युगमा अनलाइन सञ्चार माध्यमहरूको बाढी नै आएको छ । हजारौं न्युज पोर्टलहरूको भीडमा एउटा नयाँ माध्यम जोड्दै गर्दा हामीले केही फरक र जिम्मेवार बाटो समात्ने पक्का प्रतिज्ञा गरेका छौं । हामी यहाँ केवल भीड बढाउन वा छोटो समयमै भाइरल हुने दौडमा पछि लाग्ने छैनौं । हामी गति सुस्त हुनेछ तर, हाम्रो स्पष्ट उद्देश्य भनेको पत्रकारिताको मर्म, धर्म र मर्यादालाई पूर्ण पालना गर्नु हो ।

हाम्रो समाचार कक्षबाट सम्प्रेषण हुने हरेक सामाग्रीहरूमा सत्य, तथ्य र निष्पक्षता बाहेक अर्को कुनै आग्रह वा पूर्वाग्रह रहने छैन । हामी कसैको पनि बारेमा नकारात्मक सन्देश पैदा गर्ने, चरित्रहत्या गर्ने वा निराशा फैलाउने पक्षमा कहिल्यै हुनेछैनौं । बरु समाजमा उत्कृष्ट काम गरिरहेका विभिन्न संस्था, कर्पोरेट कम्पनी र प्रेरणादायी व्यक्तिहरूको प्रोफाइल तथा सफलताका कथाहरू प्रकाशन गरी समाजमा सकारात्मक सन्देश छर्न दृढ संकल्पित छौं ।

नेपालमा समाचार भन्नासाथ प्रायः राजनीतिक दाउपेच र विवाद मात्रै बुझ्ने चलन बढेको छ। तर ‘नेपाल लग’ केवल राजनीतिमा मात्रै सीमित रहने छैन । हामीले देशको पर्यटन प्रवर्द्धन, कर्पोरेट जगत, रोचक फिचर स्टोरी, ओपेड, व्यावसायिक प्रोफाइल तथा व्यवसाय प्रवर्द्धनका अनेकन आयामहरूमा ध्यान केन्द्रित रहनेछ । देशको अर्थतन्त्र र व्यवसायिक क्षेत्रको विकासमा हामी इमानदारीपूर्वक हातेमालो गर्न चाहन्छौं ।

लक्ष्मी पूजाको यो उज्यालोले जसरी घरघरमा झिलीमिली उज्यालो ल्याउँछ, ठीक त्यसै गरी हामी पनि तपाईंहरूको विश्वास, माया र सद्भावको उज्यालोमा अगाडि बढ्न चाहन्छौं ।

आजको यो शुभ आरम्भमा हामीलाई साथ दिनुहुने सम्पूर्ण पाठकवर्ग, शुभचिन्तक तथा व्यवसायी मित्रहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि तपाईंहरूको रचनात्मक सल्लाह सुझाव र मायाको सदैव ऋृणी रहने छौं ।

धन्यवाद !

०शेयर